एउटा यस्तो पागल

Thursday, March 3, 2011

" तिले बौलाएछ साथी हो ! " - एक जनाले घोषणा गर्‍यो ।  " साँच्चै हो र ? " - अर्कोले निस्चयता माग्यो ।
 " हो यार त्यो बौलाएकै हो " - अर्कोले थप्यो ।
एक कान दुई कान अनी मैदान भयो कुरा माथि सम्म पुगेछ । मेरो मेनेजरले अफिसमा बोलाएर मेरो पागलपनको मौखिक परिक्षा लियो । हिजो सम्मको इमान्दार, मेहनेती र कर्त्ब्यनिस्ठ कामदार म आज एका एक अनेक प्रश्नहरुको सामना गरिरहेको थिएँ एक अपराधीले झैँ । अन्तत: म पागल ठहरिएँ उनिहरुको नजरमा  र नेपाल फर्काइने भएँ ।
        गती छाडेर छाडा बोल्दै हिंडेको छैन । इज्जतको आवरण उतारेर कसै सामु निर्लज्ज प्रस्तुत भएजस्तो पनि लाग्दैन । तै पनि पागलपनको कुन परिभाषा र मापदन्ड भित्र परें कुन्नी मलाई थाहा छैन। हो, नमिठो बिगतलाई भुल्ने बाहानामा मैले अबिराम सल्काउने चुरोट्को धुवाले कतिलाई पिरोल्यो होला । कहिले काहीँ पीँडक स्‍मृतिले मध्यरातमा ऐठन पार्दा कसैको निद्रामा बाधा पुगेहोला । मलाई अनुभुती नभएको होइन यी कुराहरु ।
मलाई पागलको संज्ञा दिनेहरुले एक पटक बुझ्ने प्रयास सम्म गरेनन् - किन तेरो यस्तो असामान्य बर्तमान ? “ सोधेको भए सायद पोखिदिन्थेँ बिषाद मेरो त्यो अतितको कथा ।
    यस मानवाकृतीलाई तिल बहादुर भनेर चिन्दा हुन्छ, तर मलाई चिन्ने र चिनाउनेहरुले तिले भन्दा सजिलो मान्छन्। कुनै गुनासो छैन मलाई यी फरक नामहरुमा।
जहाँ ओत लाग्ने ठाउँ भेट्छु त्यही मेरो घर हो। मेरो आफ्नै घर त यो आकाश मुनी कही कतै छैन भन्न मन लाग्छ मलाई । भन्छन् छानो र भित्ताको आकृति मात्र घर होइन, माया, प्रेम र आफ्नोपनले मात्र घरलाई साच्चै घर बनाउन सक्छ। त्यसैले नुवाकोट जिल्लाको एउटा दुर्गम गाउँमा रहेको मेरो जन्मघर जहाँ स्नेह, आफ्नोपन र बात्सल्यताको अभवमा मैले मेरो बालापन आँसुमा डुबाएँ, त्यस्लाई आफ्नो घर भन्न मेरो मनले मान्दैन। जन्मथलो हो, मेरो सालनाल गाडीएको ठाउँ सम्झना नआउने त कहाँ हो र तर आफ्नोपनको कुनै तृष्णा छैन मनमा।

           सानैमा आमाको काख गुमाएँ । सौतेनी आमाको यातना र टोकसोमा मेरो बालापन बित्यो । कती रात आसुँको झरीमा भिजेर बिते । कती रात भोकको अग्नीमा तपेर बिते । आधा पेट अन्नको भरमा आफ्नो उमेरको क्षमता भन्दा भारी काम गर्न वाध्य थिएँ म। पेटमा भोकको ज्वाला असह्य दन्केपछी भोकाग्नी शान्त पार्न गाउँघर, छरछिमेक चाहर्न थालेँ। केही दानी दयालुहरुले रुखो सुखो बासी भएपनी हात पातमा दिन्थे। कसैले आमा टोकुवा अलक्षिने भन्दै लखेट्थे । खाने बेलामा झ्यालबाट हेर्छस भन्दै पानी छ्यापिदिन्थे कसैले । एक दिन सानीआमाले म भन्दा ठुलो सिलाबरको गाग्रो बोकाएर पानी ल्याउन पठाइन्। जम्मा आठ बर्षको थिएँ होला म त्यती बेला। गाग्रो सहित ढुन्मुनिएर लडेँ । गाग्रो तल पुगेर कच्याक कुचुक भयो। थर थर काम्दै घर फर्केँ । बाउ घरमा थिएनन्। सानीआमाले खाँबोमा बाँधेर नाम्लोको पातोले खुब चुटिन्। त्यस दिन अन्न पानीको मुख देख्न पाइएन।
एक दिन मनमा त्यसै त्यसै बिरक्त चलेर आयो र घरबाट लुसुक्क हिडें। भौतारिदैं हिंड्ने क्रममा त्रिशुली बजारमा आइपुगेछु। पेटभर दुई छाक खाना पाउने सर्तमा त्यहिको एउटा भट्टी पसलमा भाँडा माझ्न थालें। केही महिना काम गरेपछी त्यहाँ पनि मन अस्थिर हुदै थियो, एक दिन छेवैको अर्को भट्टी पसलमा काम गर्ने जितेले भन्यो - " काठमाण्डुमा ह्याँ भन्दा गतिलो काम पाईन्छ रे, पैसो नि पाईन्छ रे जाने हो।"
      दुई छाक भातको लागि मात्र काम गरेको फुच्चे म पैसाको कुरा सुने पछी मन चन्चल भैहाल्यो। भोली पल्टै जिते र म काठमाडौं जाने मिनिबस चढेर हुइकियौँ। काठमाडौं शहर त पसियो तर त्यो अपरिचित बिशाल शहरमा हामीहरु निसास्यौँ, हरायौं, सागरमा एक थोपा पानी हराए झैं। ठुलो भाग खोज्न हिंडेका हामीहरु काठमाडौंका चिसा गल्लीहरुमा भोकै प्यासै सुत्न थाल्यौं। जिते म भन्दा दुई तीन बर्ष जेठो र अली चतुरो थियो। एक दिन उसले एउटा मिनी बसमा खलासिको काम पाएछ अनी मलाई सडकमा अलपत्र छोडेर ऊ हिड्यो।
 जितेले छोडेर हिँडे पछी शहरका गल्ली गल्ली म एक्लै भौतारिन थालेँ । शहरबासीहरुबाट मैले अब "खाते" संज्ञा पाइसकेको थिएं। त्यसैले चोरी गर्छ भनेर म "खाते" लाई कसैले काम दिएन। एक दिन स्वयम्भू उक्लने सिंढीमा उभिएर पर्यटकहरु सँग हात थाप्दै थिएँ , एक ब्यक्ती मेरो नजिकै आएर मलाई नियालेर हेर्दै भन्यो -- "ए केटा त आइतेको छोरो तिले होइनस्? " मैले पनि उनलाई नियालेर हेरें उनी त हाम्रो गाउँका भिमे काका पो रहेछन्। म उनलाई देखेर यसरी भक्कानिएँ मानौं कुनै ठुलो मेलामा बिछोडिएको बच्चा बाबु आमा सँग पुनर्मिलन हुँदा भक्कानिएर रोएको होस् । " घर छोडेर किन हिंडेको भन्दै उनले मलाई गाली गरे। त्यो बिरानो शहरमा भिमे काका मेरो लागि भगवान साबित भए। उनले मलाई सितापाइलास्थित उनको डेरामा आश्रय मात्रै दिएनन् आफुले काम गर्ने गार्मेन्ट कारखानामा काम पनि लगाइदिए। साँगुरो डेरा भए पनि बसाइ सँगै थियो भिमे काका सँग, जसो तसो दुई छाकको जोहो गर्न  मैले पनि सघाउन थालेँ भिमे काकालाई

सुर्य र चन्द्रको लुकामारी चलिनै रह्यो। दिन, महिना र बर्षहरु बित्दै गए। समयको चक्र सँगै सय गोता र हजार हन्डर खाँदै एक दशक पार गरेछु काठमाडौंमा। एक दशक अघी भौतारिदै बिरानो शहरमा पसेको नौ बर्षको केटो म अब जवान भइसकेको थिएँ। यस बिचमा भिमे काका शहर छोडेर गाउँ मै बस्न थालेका थिए भने उनका छोरा जीवन दाई सँग म बस्न थालेको थिएँ । जीवन दाई एउटा म्यानपावर अफिसमा काम गर्थे । म पनि गार्मेन्टको राम्रो कारीगर भइसकेकोले अब त अप्ठेरा गल्ली गल्छेडा पार गरेर जीवनको मुलबाटो समातेँ कि जस्तो लागेको थियो तर होइनरहेछ । बिसम यात्रा त अझै बाँकी रहेछ । देशमा चलिरहेको सशत्र द्वन्द्वका कारण ब्यपार ब्यवसाय ओरालो लाग्दै जाँदा म पनि अर्ध बेरोजगार अवस्थामा पुगेको थिएँ त्यसबेला ।
    मैले काम गर्ने गार्मेन्ट कारखानाको छेवैमा एउटा सानो चिया नास्ता पसल थियो जो हामी गार्मेन्ट्का कामदारहरुलाई नै लक्षित गरेर खोलिएको थियो। अर्ध बेरोजगार हामीहरु धेरै जसो समय त्यही चिया पसलमा टेबल बजाएर बस्थ्यौँ । त्यो चिया पसलको साहुनी दिदी ( कमला ) लाई भेट्न एउटी केटी आउन थालेकि थिई केही दिन देखी । रुप रङ राम्रै थियो उसको। केटाहरुले खुब कर्के नजर लाउथे । सुसेला हाल्थे , ईशारा गर्थे र भित्र भित्रै मुर्मुरिन्थे । तर त्यो केटीले भने अरुलाई वास्ता नगरि मलाई मात्र ताके जस्तो लाग्थ्यो। कहिले काहीं कमला दिदीलाई सघाउने बहानामा चिया नास्ता बोकेर मेरो टेबलमा आउथी ऊ र लजाएर मुसुक्क हाँस्दै फर्कन्थी। मलाई पनि केही बोलौं , केही भनौं जस्तो नलागेको होइन तर धक लाग्थ्यो । कमला दिदीका नजरले हामीलाई पिछा गरिरहेका रहेछन् एक दिन म एक्लै भएको बेला कुरो कोट्ट्याइन - " चक्कर के हो भाई खुब मस्का मस्की चल्छ नि जया सँग ? "  - उनका प्रश्न सुचक नजर केर कार शैलीमा मेरो अनुहारमा परे पछी म रङेहात पक्राउ परेको चोर झैं हल्का रातो र तातो भएको थिएँ । "
" खासै त्यस्तो केही होइन " - म तर्कन चाहेँ ।
" ल केटी जस्तो किन लजा'को भाई - दिदीले मलाई नछोड्ने सुर कसिन् - " जया मन पर्छ भने भन मैले कुरा गरिदिउँला । "
दिदी सहयोगी र सहजकर्ता हुने भएपछी संकोच मान्नु मैले उचित ठानिन र जयाको बारेमा सोध खोज गरेँ ।
 " उसको बारेमा धेरै कुरा त मलाई थाहा छैन - दिदीले भनिन - घर चै सिन्धुपाल्चोक भन्छ। "
मैले जिज्ञासा राखें - " अनी तपाईंले कसरी चिन्नु भयो त उसलाई । "
कमला दिदी झन्डै एक महिना अघी बिरामी परेर लगतार तीन चार दिन सम्म टिचिङ अस्पातल धाएकी थिइन् । त्यसै बेला जया सँग अस्पातलमा चीनजान भएको कुरा दिदीले बाताइन् ।
भोली पल्ट नै दिदिको सहयोगमा हाम्रो परिचय आदान प्रदान भयो । नाम जया, घर सिन्धुपाल्चोक र बि ए दोश्रो बर्षमा अध्ययनरत । मैले पाएको उसको मोटामोटी परिचय थियो यो। पहिलो परिचय के भएको थियो त्यस्पछी त यती छिट्टै हामी नजिकियौँ कि एक दिन उसको अनुपस्थितिमा मलाई सारा जगत सुन्य लाग्थ्यो। नजरले केवल उसैलाई मात्र खोज्थे। म दिन प्रतिदिन उसको मायामा हराउँदै थिएँ । दिनमा एकपल्ट उसलाई नदेख्दा एउटा अनौठो प्यासको छट्पटी महसुस हुन्थ्यो ।
मलाई ऊ सँग टाढाको कुनै पार्कमा घुम्न जाने ठुलो रहर थियो तर ऊ भने बाहिर घुम्न मन पराउदैनथी । प्राय एकान्तको चिया, कफी शप तिर भेट्न बोलाउँथी । भन्थी - " अझै बेला भएको छैन तिमी र म एक अर्काको हात समातेर पार्क तिर खुला हिंड्ने । मलाई मान्छेले कुरा काट्लान् भन्ने डर लाग्छ। " इज्जत र अनुशासन प्रति सचेत उसको बिचार सहि छ भन्ने लाग्थ्यो मलाई ।
"म अनपढ गवारलाई किन मन परायौ? किन यती धेरै माया गर्छौ? "  - कहिलेकाही मैले सोध्दा भन्थी - " जब मनले कुनै चिज रोज्छ त्यहाँ हरेक कारणहरु गौण् हुन्छन् तर पनि मलाई सच्चा मन र परिश्रमी हातहरु मन पर्छ। "
" म जस्तै ?" - म ठट्टा गर्न खोज्थेँ ।
" हो ठ्याक्कै तिमी जस्तै " - उसले मेरो नाक निमोठ्दै भन्थी ।
ऊ प्रती मेरो समर्पण यसरी बढ्दै गयो कि ऊ बिनाको जीवन कल्पनामा समेत खल्लो लाग्थ्यो ।
" अब हामी छिट्टै बिहे गर्नु पर्छ । " - एक दिन मैले उसको मन बिचारेँ ।
मैले अपेक्षा गरेको थिएँ उसले मेरो प्रस्ताव सहर्ष स्विकार्दै खुशीले अंगालो हाल्ने छे । तर उसले त उल्टो सम्झाउँदै भनी - " हेर तिलु मलाई पनि तिमीसँग बिहे गरेर तिम्रो न्यानो अंगालोमा सधैंका लागि बाँधिन मन नलागेको त कहाँ होर ? तर एक पटक सोंच त म पढ्दै छु, तिम्रो पनि काम राम्रो सँग चलिरहेको छैन । हाम्रा भोलिका दिनहरु सुखद हुने छैनन् ।" - उसले भाबुकता भन्दा बाहिरको व्यबहारिक कुरा गरेकी थिइ । ऊ जस्तो बुझकी प्रेमिका पाएर म आफुलाई भाग्यमानी ठानेँ ।
उसको दाजु ईन्डियामा नोकरी गर्छन् भनेकी थिइ एक पटक उसले । हाम्रो प्रेम सम्बन्धको बारेमा पनि दाजु सँग कुरा गरेको छु भन्थी । " केटो राम्रो छ भने ठिकै छ। तेरो खुशी नै मेरो खुशी हो। तिमीहरुलाई मेरो आशिर्बाद छ । " - उसको दाजुले भनेको कुरा सुनाएकी थिई मलाई ।
एक दिन उसले मलाई एउटा नयाँ कुरा सुनाई - " तिलु तिम्रो काम राम्रो सँग नचलेकोमा दाजु चिन्तित हुनुभएको छ । ईन्डियामा जति नि गार्मेन्टको काम पाईन्छ रे । मैले दाजु सँग कुरा गरेको थिएँ । तलब पनि राम्रै मिल्छ रे । तिमी जाने हो भने दाजुले काम खोजिदिन्छु भन्नु भएको छ। कि जान्छौ त ? "
तत्काल यो कुरा नराम्रो लागे पनि म एक रात झन्डै सुत्न सकिन यस बारेमा सोँचेर । सोचेँ - नेपालमा गुम्दै गएको आफ्नो रोजगारी बारे अनी जया सँग बिहे गरेर सुखी र खुशी जीवन बिताउने बारे । अन्तत: राम्रो तलब मिल्छ भने ईन्डिया जाने मनस्थिती बनाएँ मैले र जयालाई भनेँ - " दाजुलाई काम खोज्न लगाउनू "
दुई दिन पछी नै जया आई र भनी - " बधाई छ तिम्रो लागि काम मिलेछ । दाजुले फोन गर्नु भएको थियो  भारु पाँच हजार तलब मिल्छ रे अनी ओवर टाइम पनि । हप्ता दस दिन भित्रमा ईन्डिया पुगी सक्नु पर्छ भन्नु भएको छ । "
लालपुर्जा साहुकोमा बन्दकी राखेर अरब छिरेका कैयौं नेपालीहरु जो दिनभर तातो बालुवामा गैती बेल्चा चलाउन वाध्य छन् उनिहरुको पनि त सरदर कमाइ त्यही आठ दश हजार न हो - खर्च र बचतको जोड घटाऊ सुरु गर्‍यो त्यस रात भर मेरो मनले ।
मन राजी भए पछी तनको तयारीमा केही बेर लागेन । तीन दिन पछी नै म उता जान तयार भएँ । जयाले भनी - " दाजुको एक जना साथी छुट्टी आएको रहेछ। ऊ पर्सी फर्कंदै रहेछ । दाजुले भन्नु भएको छ सँगै पठाइदिनू ।"
नौलो ठाउँको यात्रा , कहाँ र कसरी ? धेरै द्विबिधाहरु थिए मनमा । गन्तब्य सम्म पुर्‍याउने सहयात्री भेटिएकोमा खुशी नै भएँ म।
पर्सिपल्ट बसपार्क पुग्दा जयाले बताए बमोजिम नै मेरो समेत टिकट् लिएर मलाई पर्खेर बसिरहेको रहेछ जयाको दाजुको साथी । मलाई बिदाइ गर्न सिधै बसपार्क आउँछु भनेकी जया बस छुट्ने बेला सम्म  पनि आइन। मेरो मनमा छट्पटी भयो ।  बस घ्यारर घुर्रर गर्न सुरु गरिहाल्यो ।बिस्तारै बसले बसपार्क छोड्यो र गती लियो । मानिसहरुको घुइचो मा मेरो नजरले जयालाई खोज्दै थिए । तर ऊ आइन । बस कलंकीबाट बाहिरियो । मेरो छाती पट्ट फुट्ला झै भयो । आँखाबाट ताता आँसुका ढिक्का तप्प खसे । बसले नागढुङा पार गर्नै लागेको हुँदो हो , सहयात्री दाजुको मोबाईल बज्यो । मेरो लागि जयाको फोन रहेछ  । " ट्राफिक जामले गर्दा म आउन ढिला भयो । राम्रो सँग जाउ है तिलु " - जयाको बोलिले पोलेको ठाउँमा बरफले छोए झैँ सितल मन भयो ।
अँध्यारोलाई चिर्दै बस त्रिशुलिको तिरै तिर हुइकिदै थियो भने तल सुसाउँदै गरेको त्रिशुलिको छाल सँगै मेरो मन पनि बहकिँदै थियो ।
   कहिले बस , कहिले रेल त कहिले रिक्साको खिचातानी । पट्ट्यार लाग्दो लामो यात्रा पछी बल्ल गन्तब्यमा पुगिएछ।
त्यहाँ पुगेको दुई दिन पछी बल्ल जयाको दाजु सँग भेट भयो । सोँचेको थिएँ मलाई देख्नासाथ जयाको दाजुले म प्रती बिशेष चासो लिने छन् । तर उसलाई त जती बेला पनि फोनमा ब्यस्त देख्थेँ मैले । भन्थ्यो  - “ तिम्रो कामको बारेमा कुरा गर्दै छु । हिन्दी होइन खै अर्कै कुन अती अप्ठेरो भाषामा कुरा गरिरहेको हुन्थ्यो ऊ ।त्यहाँ पुगेको तेश्रो दिन बिहानको खाना खाने बेलामा भने - " ल है भाई आज देखी काममा जानु पर्छ ।" जयाको दाजु , उसको साथी र म सँगै बसेर खाना खायौँ । खाना खाएको एकछिन पछी नै मेरो टाउको भारी भएर आयो र निन्द्रा लाग्ला जस्तो भयो । अर्धचेतन् अवस्थामा ती दुई जनाले ओछ्यान् सम्म पुर्‍याएको धमिलो सम्झना छ मलाई । त्यस पछी के भयो मलाई केही होस् भएन । जब होस खुल्यो म अस्पातलको एउटा सैयामा आधा जीवन हरण भएको अवस्थामा निरिह लडिरहेको पाएँ । 
   किन कसरी अस्पतालमा पुगेँ सोध खोज गर्ने प्रयास गरेँ थाहा भयो बर्बाद भैसकेको रहेछु मेरो आधा जीवन नै हरण गरी सकिएको रहेछ। मानव मृगौला तस्करहरुले जाल झेलमा  पारेर मलाई मद्रासको त्यो अस्पातल सम्म पुर्याएको कुरा जब थाहा पाएँ मैले सजाएको सपनाको सुन्दर संसारमा भुकम्प गयो। एका एक मेरो मस्तिस्कमा बिगतका कुराहरु फिल्मको रील झैं  फन्फनि घुम्न थाले - जया नामकी त्यो राक्षसनीले "प्रेम" गर्नको लागि जस्तो अनपढ्लाई नै रोज्नु , खुला पार्कहरुमा नघुमेर होटलका अँध्यारा  कुनाहरुमा मात्र भेट घाट गर्नु , बिहे गरौँ भन्दा अरुची देखाउनु अनी मलाई बिदाइ गर्न बसपार्क सम्म नआउनु सुनियोजित उसका यी कपटी चालहरुको छनक सम्म पाउन नसक्ने आफ्नै बुद्धुपना प्रती आफैलाई हिनताबोध क्रोध जागिरहेको थियो रोएँ, खुब रोएँ पींडाले रोएँ अनी क्रोधले रोएँ
 केही सहृदयी नेपालीहरुले उद्दार गरी नेपाल पठाइदिए पछी सिधै कमला दिदीको होटलमा पुगेँ मेरो हालत देखेर दिदी पनि दुखी भइन् एउटा शिकार फसाएपछी त्यो जया नामकी राक्षसनी आउन छाडिछ सायद अर्को शिकारको खोजीमा होला कमला दिदी जीवन दाईको सहयोगमा प्रहरीमा रिपोर्ट् गरेँ केहीदिन पछी नै जया पक्राउ परी " मेरो मन मुटु तँलाई दिएकै थिएँ , नपुगेर मेरो अरु अंग पनि लिइस् चाहिन्छ भने यो बाँकी रहेको एक मुठी प्राण पनि लैजा " - एक पटक " जया " लाई भेटेर भन्न मन लागेको थियो तर मौकै मिलेन
 त्यसपछीका दिनहरुमा जीवन दाईले मलाई सहारा सहानुभुति दिइरहनु भयो वहाँ सँगै बस्न थालेँ मेरो मनमा भबिष्यको चिन्ताले डेरा जमाउन थालेको थियो। जीवन दाइले धेरै सम्झाउनु हुन्थ्यो तर पनि मलाई लाग्थ्यो - अब सकिएँ , केही गर्न नसक्ने भएँ , सायद् धेरै बाँच्दिन होला पुराना यादहरुले पलपल झस्काइ रहन्थ्यो त्यसैले मलाई घर बाहिर निस्कन मन लाग्दैनथ्यो
" कि बिदेश जान्छस् तिले ? " - एक दिन अचानक जीवन दाईले सोध्नु भयो - कमाइ पनि हुन्छ , तेरो मन पनि बहलिन्छ । जान्छस् भने ईराक पठाइदिन्छु । "
" अधकल्चो मान्छे , बिदेश गएर अर्काको खटनमा कसरी काम गर्न सकुँला र ? " - मैले संसय ब्यक्त गरेँ ।
काम सजिलो छ , जाँदा मेडिकल सर्टिफिकेट पनि चाहिँदैन भन्दै जीवन दाईले लागत खर्च पनि पछी कमाएर पठाउने गरी मलाई ईराक आउने चाँजो पाँजो मिलाइदिनु भयो । अनी म ईराक आइपुगेँ ।
तनको घाऊ बिसेक भए पनि मनको घाऊ घरि घरि बल्झीरहँदा बाँच्न गार्‍हो हुँदो रहेछ । बिर्सुँ भन्छु त्यो अमिलो बिगतलाई तर घातको डढेलोमा झोसिएको मन पल पल चहर्‍याइ रहन्छ । जीवन जिउने आत्मबिश्वासको खोजिमा ईराक प्रबेश गरेको मान्छे म "पागल" को अर्को उपाधी बोकेर फिर्दै छु ।
आज मेरो सुपरभाइजरले पर्सिको लागि टिकट् मिलेको कुरा मलाई जानकारी गरायो । हर्ष,बिस्मात या कुनै प्रतिकृया छैन म सँग । यस्तो लागेको छ म फगत प्रायोजित यात्री त रहेछु, कहिले यसको त कहिले उसको टिकटमा यात्रा गरिरहने । थाहा छैन कहिले आउने हो त्यो टिकट् नफर्कने अन्तिम यात्राको ।
 
                                                                                                                                      - लेखक: प्रकाश समीर

( पाठक ब्रिन्द यो कथाको आधार यथार्थ भए पनि घटना र पात्रहरु पूर्णत: काल्पनिक भएकोले कुनै ब्यकती तथा घटना सँगको मेल केवल संयोग् हुनेछ । )          

4 Comments:

Anonymous said...

HELOO PARKASH SIR STORY TA RAMRO LAGAYO. AAGAMI DHENHARUMA PANI YASTI LIKHA HARU PADHANA PAAU TAPAI KO BLOGGING YATARA NIRANTAR RAHOS.


SUBASH GURUNG(ILLAM NEPAL)
subashghali@yahoo.com

Anonymous said...

gala sangai kala pani ramro chha safaltako kamana garda chhu[ bhatj]

प्रकाश समीर said...

कमेन्ट लेख्ने सबै साथीहरुलाई हार्दिक धन्यवाद !

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!