लादेन, अमेरिका र भष्मासुर

Monday, May 9, 2011

यस पाली चैँ लादेन बाजे सुइँकेकै रहेछन् यो बीश्वास गर्न मलाई झन्डै एक हप्ता लाग्यो। किन भने बुढा पहिला पनि धेरै चोटि मरिसकेका हुन्। कहिले अफगानिस्तानको तोराबोरामा मरे कहिले किड्नी फेल भएर मरे। सन् २००१ देखी किस्ताबन्दीमा मर्न सुरु गरेका बुढा २०११ मा बल्ल मृत्युको पुरा किस्ता चुक्ता गरे।
 
फेसबूक ट्विटरमा मजदुर साथीहरुलाई अन्तरराष्ट्रिय मजदुर दिवसको शुभकामना बाँड्दै गर्दा "लादेनको मृत्यु" भन्ने खबर चैते डढेलो झै फैलीसकेको रहेछ। मैले खासै चासो दिइन। भन्नाले बिश्वास लागेन। पछी इन्टरनेटमा यसो समाचारहरु खोजेको रगतपच्छे भएको लादेनको लाशको तस्विर पो देखेँ मृत्यु भएका लादेनको तस्विर मुसुक्क हासेको केही बोलिहाल्छ कि जस्तो देखियो लौ बुढाले हासी हासी पो गोली थापेछन् जस्तो लाग्यो तस्विरलाई नियालेर हेर्दा पो लाग्यो " दालमे कुछ काला हैं " मेरो मनले त्यती बेलै घोषणा गर्यो "लादेनलाई अमेरिकाले होइन ग्राफिक्सले मारेको रहेछ।" नभन्दै त्यो तस्विर फोटोशपबाट चलाखी गरेर मिलाइएको ठहरियो गोली लागेर आधा अनुहार रक्तमुछेल हुनु आधा अनुहारमा रगतको एक छिटा सम्म नपर्नुले "अक्कल बिनाको नक्कल" भनेझै ग्राफिक्स्को धोती त्यही निर खुस्केको थियो।  ग्राफिक्सले मार्न नजाने पनि अमेरिकाले मारेकै रहेछ खैर यो कुरा यही बिसाउँ
 
उता टेलिभिजन हेर्छु "भी" आकारमा औंला चोके पारेर अमेरिकीहरु लादेनको मृत्यु उत्सव मनाउँदै थिए। राष्ट्रपति ओबामाले पनि "हो हामीले उसलाई मार्यौं " सगर्ब बयान दिदै थिए बिश्व सामु। अबिश्वास गर्दा गर्दै पनि मेरो मनले भनी रहेको थियो यदी लादेन मारिएकै हुन् भने उनले आफ्नो दुश्कर्मको फल पाएका छन्। महिला बालबालिका समेत हजारौं निर्दोश जीवन हरणकर्ताका अभीयन्ता लादेनको नियती ढिलो चाँडो यस्तै हुनु नै थियो।


अमेरिकाले लादेनको मृत्युत्सव मनाइरहँदा मेरो मानसमा भने मैले धेरै पहिला हेरेको  धार्मिक धाराबाहिकको एउटा दृष् फन्फनि घुमिरहेको थियो।
एक दैत्य बिशेष शक्ती प्राप्तिको लागि शिवको कठोर तपस्या सुरु गर्छ। निकै अथक अखन्ड तपस्या गरेपछी शिवजीलाई प्रकट भएर सोध्न करै लाग्यो - "भन तिमीलाई के चाहियो ?" तपस्वीले आफ्नो इच्छा जाहेर गर्यो - " प्रभु मलाई यस्तो शक्ती दिनुहोस् कि जसको टाउकामा हात राख्छु भष्म होस्।" पर्यो फसाद शिवजीलाई, बरदान् नदिउँ भने आफ्ना भक्त ती अखण्ड तपस्वी माथि अन्याय हुने दिउँ भने लोकहित बिपरित हुने दोधार अन्योलका बिच बुढाले "तथास्तु" भन्न के भ्याएका थिए  नभन्दै त्यो भष्मासुरले जगतमा उपद्रो मच्चाउन सुरु गरिहाल्यो। उसको अगाडी पर्ने जती सबैलाई खरानी पार्दै जता ततै त्राहिमाम् सिर्जना गर्यो। हुँदा हुँदा त्यो भष्मासुरले स्वयम् बरदान दाता शिवलाई समेत भष्म पार्ने प्रयास गरे पछी उनको  पनि भागा भाग भयो। जता ततै कोलाहल आतंक फैलिए पछी त्यो भष्मासुरको अन्त्य गर्न स्वयम् शिव अन्य देवी देवता हरुले ठुलो प्रपन्च गर्नु परेको थियो।   

ईतिहास भन्छ लादेनलाई भष्मासुर बनाउने अरु कोही नभएर स्वयम्  अमेरिका नै थियो। सोभियत-अफगान युद्धमा रुसी सेनालाई अफगानिस्तानबाट निकाल्न अमेरिकाले पर्दा पछाडीबाट लादेनलाई आर्थिक तथा हतियार सहयोग गरेको कुरा दुनियाँलाई थाहा छ। रुसी सेना अफगानिस्तान छाडे पछी अमेरिकाको लागि लादेन " चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो " भयो। फलस्वरुप उनिहरुको दोस्ती दुस्मनीमा रुपान्तरित हुँदै गयो बिभिन्न कारणहरु थपिदै  त्यो आजको स्थिती सम्म आइपुग्यो।
 
एउटा भष्मासुरको बध हुँदैमा विश्वमा अमन चैन कायम होला भन्न सक्ने स्थिती अझै पनि देखिएको छैन सैयौ भष्मासुरहरु लाम्बद्द  भएर प्रतिशोधको लागि गौंडो कुरेर बसिरहेका छन् कहिले काहीँ भयभित  हुन्छु कतै  महा बिनासकारी आणबिक हतियारको सूत्र यी भष्मासुरहरुको हातमा पर्यो भने यिनीहरुले यो पृथ्वीलाई आत्मघाती बम बनाएर "अल्लाह" को नाममा पड्काउने त होइनन् ?

6 Comments:

वेदनाथ पुलामी said...

प्रकाश समीर जी राजनीतिमा मान्छे सयौ पटक मर्छ भन्थे हो रहेछ ...लादेन बुढा पनि जिस्कादा जिस्कदै हिडेछन ........

यो "अल्लाह" नाममा जे पनि गर्न तयार मनुष्य प्रति मेरो आपति छ ! हैन किन त्यति साह्रो अन्धो हुन्छन ती ?

साहित्य संसार said...

शैली मिठो लाग्यो समिरजी यहाँको । शायद पहिलो पाइला टेक्दैछु तपाईंको ब्लगमा । अब यो ब्लग प्रतिबिम्बमा आउदै जादै गर्ने नै छु ।

केशव के,सी बगदाद, said...

प्रकाश जि,
यस पाली लादेन सदा को लागि बिदा लिएकोमा कुनै दुई मत छैन,लादेन को मृत्‍यु ले अरु धेरै लादेन जन्माउलान नभन्न सकिन्न,
साथै तपाईं ले प्रबास मा रहेर आफ्नो बिबिध समस्या हुँदा हुँदै पनि ब्लग लाई निरन्तरता दिनु भएको मा धन्यवाद।।साथै प्रगती को अग्रिम कामना पनि हजुर लाई...../

Jotare Dhaiba said...

शैली मस्तीको लाग्यो तपाईंको । लादेन त के समपुस्ताको उसको भतिजा सम्मलाई नचिने पनि निकै नजिक गएर छोटोमा सागर भर्नुभएको छ पोस्टमा । लादेन निन्दनीय छँदै थियो, अझ उसलाई भष्मासुर बनाउने र आतंकवादको काँधमा तोप तेर्स्याएर विश्वलाई त्राहीमाम बनाउने अमेरिका पनि पो कम निन्दनीय छैन हौ !
अबदेखि तपाईंको मनको प्रतिविम्बसँग साइनो जोडियो । आउँदै गरूँला ।

dahal krishna,from IRAQ said...

प्रकाश जि,
तपाईं को प्रतिबिम्ब ब्लग आज मात्र पढेको थिए,धेरै खुशी लाग्यो,जुन हजुर को बिचार र बिबेचना हरु अझ बढी प्रस्फुठन हुँदै जाउन भन्ने मेरो कामना।।।।।।।।।।।।दाहाल किश्ण,बघदाद,इराक..

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!