अत्याचार, शोषण, दमन र भिभेदका बिरुद्ध भन्दै रोल्पाबाट क्रान्ति सुरुवात गरेका बाबुराम भट्टराईले देशको प्रधानमन्त्री भए लगत्तै फेरी बिलाशिता र अपव्ययिताका बिरुद्ध मुस्ताङ्बाट क्रान्ति सुरु गर्ने जमर्को गर्दै छन् । रोल्पाबाट सुरु भएको क्रान्ति कती सफल भयो, कती असफल भयो, कसलाई रुवायो र कसलाई हसायो यसको लेखा जोखा ईतिहासले गर्दै जाला तर मुस्ताङ्बाट सुरु भएको यो क्रान्ति सफल हुनै पर्छ भन्ने कामना मेरो र लाखौं लाख नेपालीको छ।
प्रधानमन्त्री पदमा आशिन भए लगत्तै सवा करोड भन्दा बढी महँगो पर्ने सुबिधा सम्पन्न बिलाशी गाडी लत्त्याएर भट्टराईले नेपालमा “एसेम्बल्ड” भएको मुस्ताङ् गाडी रोजे आफ्नो सवारी साधानको रुपमा । आफ्नो भोग बिलाशी दैनिकी मा धक्का पुग्ने महसुस गरेका केही बिलाशीहरुले भट्टराईको यो कार्यलाई सस्तो लोकप्रियाताको लागि गरिएको नौटंकी भने पनि आम जनताले यस कार्यलाई निकै सकारात्मक रुपमा लिएका छन् । “जुन जोगी आए पनि कानै चिरेको” भन्दै प्रधानमन्त्रीको कुर्चीमा को आउँछ को जान्छ वास्ता गर्नै छाडेका नेपाली जनतामा यो जोगी त अली फरक पो हो कि भन्ने अनुभुती गराएको छ। यसले निराश मनहरुमा केही आशाका किरणहरु जगाएको छ।