कुकुर भन्दा मान्छे को जात सानो हुन्छ र ?

Friday, December 23, 2011


गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।

भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् मेरा चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले "

कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " आँफै पैराको मुखाँ बसे'छु यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु ?"

एउटा यस्तो पागल

Thursday, March 3, 2011

" तिले बौलाएछ साथी हो ! " - एक जनाले घोषणा गर्‍यो ।  " साँच्चै हो र ? " - अर्कोले निस्चयता माग्यो ।
 " हो यार त्यो बौलाएकै हो " - अर्कोले थप्यो ।
एक कान दुई कान अनी मैदान भयो कुरा माथि सम्म पुगेछ । मेरो मेनेजरले अफिसमा बोलाएर मेरो पागलपनको मौखिक परिक्षा लियो । हिजो सम्मको इमान्दार, मेहनेती र कर्त्ब्यनिस्ठ कामदार म आज एका एक अनेक प्रश्नहरुको सामना गरिरहेको थिएँ एक अपराधीले झैँ । अन्तत: म पागल ठहरिएँ उनिहरुको नजरमा  र नेपाल फर्काइने भएँ ।
        गती छाडेर छाडा बोल्दै हिंडेको छैन । इज्जतको आवरण उतारेर कसै सामु निर्लज्ज प्रस्तुत भएजस्तो पनि लाग्दैन । तै पनि पागलपनको कुन परिभाषा र मापदन्ड भित्र परें कुन्नी मलाई थाहा छैन। हो, नमिठो बिगतलाई भुल्ने बाहानामा मैले अबिराम सल्काउने चुरोट्को धुवाले कतिलाई पिरोल्यो होला । कहिले काहीँ पीँडक स्‍मृतिले मध्यरातमा ऐठन पार्दा कसैको निद्रामा बाधा पुगेहोला । मलाई अनुभुती नभएको होइन यी कुराहरु ।
मलाई पागलको संज्ञा दिनेहरुले एक पटक बुझ्ने प्रयास सम्म गरेनन् - किन तेरो यस्तो असामान्य बर्तमान ? “ सोधेको भए सायद पोखिदिन्थेँ बिषाद मेरो त्यो अतितको कथा ।

मरुभूमीको एउटा फूल

Friday, January 14, 2011

"मेरो बाबा आमाका पाँच सन्तान् मध्य जेठी हुँ म। मेरो नाम वुरुद हो। तीन बर्ष भयो मेरो परिवार सँग बिछोडिएर मामाघर बस्न थालेको।"
बोल्दा बोल्दै एकछिन रोकिई अनि लामो श्वास फेर्दै बिगतमा फर्की -"हाम्रो एउटा सुखी खुशी परिवार थियो राजाधानी बगदादमा। आफ्नै घरमा ठुलो किराना पसल थापेका थियौँ। बाबा पसलमा बस्नु हुन्थ्यो। आमा घरको काममा ब्यस्त हुनुन्थ्यो भने भाई बहिनीहरु विद्यालय जान्थ्यौं। रमाइला दिनहरु थिए ती। आफ्नै घर आँगनमा खेल्थ्यौँ, कुद्थ्यौँ हामीहरु। आमाले खाना साह्रै स्वादिस्ट बनाउनुहुन्थ्यो। बिशेष गरि आमाले बनाएको माछाको पारीकार मलाई खुब सम्झना आउँछ। फुर्सद्को बेला बाबाले हामीलाई पालै पालो मोटरसाइकलमा राखेर घुमाउनु हुन्थ्यो।"
बिगत सम्झेर भक्कानीई ऊ।