नयाँ बर्षको शुभकामना !

Tuesday, April 12, 2016

साल २०७२ नेपालीको लागि अत्यन्तै पीँडादायक रह्यो !
पीँडक बर्ष २०७२ लाई बिदाइ र नयाँ बर्ष २०७३ लाई स्वागतम् । 

"भिजन" वाला प्रधानमन्त्री !

Saturday, October 3, 2015

                           नयाँ प्रधानमन्त्री चुन्ने चटारोमा एउटा झटारो !!




स्वागतम् ! संबिधान सुस्वागतम् !!

Sunday, September 20, 2015

संबिधान !!
कानूनहरुको कानून, मूल कानून !! एक चलायमान, गतिशील दस्तावेज , तर केही व्यक्ती, केही दल र केही जाती समुदायबाट यसलाई बेद, बाइबल, कुरान जस्तो अपरिवर्तनीय र शिला लेख जस्तो अमिट हुने जस्तो गरी बुझे या बुझ पचाउँदै आफ्नो स्वार्थमा त्यो खालको दुस्प्रचार गरे। जसका कारण संबिधान लेखन त्यती सहज हुन सकेन ।

                  बिभिन्न आरोह अबरोह र बाधा ब्यवधानका बावजुद संबिधान लेखिएर घोषणाको अन्तिम घडीमा अाइपुगेको छ। घोषणा भएको भोली पल्टै देखी चमत्कार भएर जता ततै लागेको डढेलो निभ्छ भन्ने होइन झन उल्टो बढ्दै जाने देखिन्छ भलै त्यो केही दिनमा निष्कृय हुँदै जान पनि सक्ला !! जे होस् देशले एउटा पट्यार लाग्दो कच कचबाट  मुक्ती पाउला भन्ने आशा जगाएको छ यो संबिधान लेखनको समाप्तीले !

 
               

गन,धन,डन तन्त्र

Thursday, May 30, 2013


अब नेपाल चलाउने नयाँ पार्टी र त्यसका नेताहरु !!!!
  "कागलाई बेल पाक्यो हर्ष न बिस्मात", गणतन्त्र दिवस यस्तै भयो नेपाली जनतालाई । गणतन्त्रको दिन घर घरमा  दीपावली  गर्न गृह मन्त्रालयले उर्दी जारी गरेको थियो क्यारे सायद ! देशका दुरदराज गाउँहरुबाट रोग भोक सँग लड्न नसकेर अझै कती आमाहरु आफू सँगै  छोरा छोरीहरुलाई बिषको घुट्को पिलाएर जीवन समाप्त पारीरहेको  खबरहरु आइरहेको बेला गणतन्त्रको जय गान गर्दै कसरी दीपावली गरुँ गणतन्त्रको नाममा !!

रेसुंगा मलाई माफ गर !

Saturday, April 13, 2013


 नयाँ बर्ष २०७० को शुभकामना सम्पूर्ण मेरा मित्र तथा  शुभेक्षुकहरुमा !!!

फोटो साभार: गुल्मी न्युज डट कम 
    झन्डै ६२ हप्ता भएछ मेरो ब्लग अप्डेट् नभएको। समय परिस्थिती र आफ्नो दैनिकी सँग ताल मेल मिलाउन नसक्दा नचाहदा नचाहदैँ पनि मलाई माया गर्ने साथी सर्कल र शुभेच्छुकबाट यतिका दिन गुमनाम बस्नु पर्दाको पींडा म यहाँ बर्णन गर्न असमर्थ छु।
          सोँचेको थिएँ नयाँ बर्ष २०७० को शुभकामना सहित कुनै राम्रो बिषयको पोष्ट लिएर पुनरागमन गरुँला । यता नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने बेला हुंदै गर्दा उता मेरो गृह जिल्ला गुल्मीको ताज, पवित्र तिर्थस्थल, धार्मिक, एैतिहासिक र पर्यटकीय स्थल रेसुंगामा तीन दिन देखी आगो लागिरहेको छ र यी पङ्तीहरु तयार पार्दा सम्म पनि आगो नियन्त्रणमा आउन नसकेको खबर छ। आफ्नो साल नाल गाडीएको माटोमा  आगोको साम्राज्य फैलिँदै गरेको सुनेर हिजो राती सुत्ने बेलामा धेरै पटक कोल्टे फेर्नु पर्‍यो निदाउनको लागि। तिनै कोल्टे फेराइको क्रममा निस्केका मेरा भावनाहरुलाई  बिहान उठेर यसरी लिपिबद्द गरेँ  ............

रेसुंगा मलाई माफ गर !

श्रिङ्ग ऋषीको तपो भूमी
मेरी रेसुंगा, 
गुल्मीको धुरीखाँबो मेरी रेसुंगा 
बदनमा ढकमक्क गुराँस फुलाएर
उन्मत्त बैंसालु बाला झैँ
बसन्त बहारमा मग्न मस्त भएको बेला
खै कुन पापीले झोंस्यो कुन्नी
तिम्रो तनमा आगो

कुकुर भन्दा मान्छे को जात सानो हुन्छ र ?

Friday, December 23, 2011


गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।

भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् मेरा चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले "

कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " आँफै पैराको मुखाँ बसे'छु यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु ?"

बिशेष अन्तरबार्ता !!

Tuesday, November 8, 2011

माओबादी अध्यक्ष प्रचन्ड अहिले अमेरिका भ्रमणमा निस्केका छन् अली अनौठो मुद्दा बोकेर।कम्तिमा प्रचन्डको हकमा यो कुरालाई अनौठो नै मान्नु पर्ला। कुनै दिन लडाईं र ध्वंसका लागि  कुन गौँडाबाट हात हतियार भित्र्याउन सकिएला भनेर दिन रात नाप नक्शा कोर्दै बस्ने मान्छे अहिले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बिकासका लागि सहयोग र समर्थन जुटाउने दौडाहामा लागेका छन् । नेपाल र नेपालीका लागि यो खुशी कै कुरा मान्नु पर्छ। बाल्मिकि पनि त बिद्द्वान कहलिनु भन्दा पहिला कुनै दिन खुंखार डाँका  थिए भन्ने सुन्या हो। प्रचन्ड पथबाट बाल्मिकी पथमा लाग्दै गरेका उनै नेताज्यू सँग ९०% बिज्ञापन र १०% प्रतिशत मात्र समाचार छापिने नेपालको जल्दो बल्दो पत्रीका "शुभलाभ" का लागि पत्रकार "नारदमुनी" ले लिएको अन्तर्वाता-  

अमेरिका किन जान लाग्न भा ?
"लुम्बिनीको बिकास र शान्ति प्रकृयामा सहयोग र समर्थन् जुटाउने सवालमा यसो केही हुन्छ कि भनेर जान लाग्या।"
युद्ध प्रेमी मान्छे अचानक कसरी बुद्ध प्रेमी हुनु भो ?
"हेर्नुस् बुद्ध र हामीमा धेरै समनता छ, उनी राजाको छोरो हुँदाहुँदै पनि दरबारको सम्पूर्ण सुख सयल छोडेर आँफै सँग बिद्रोह गरि वन पसेका थिए। पछी सम्पूर्ण भ्रमबाट मुक्त भएपछी फर्के। हामी पनि बिद्रोह गरेर वन पस्यौँ र दश बर्षको वनबासले हामीलाई पनि भ्रम मुक्त बनायो र अहिले शहर पसेका छम् ।"

मखमली फुल्दा मार्सी धान झुल्दा....!!

Wednesday, October 26, 2011

     
हिजो कुकुर तिहार रहेछ कुकुर तिहारको शुभकामना ठोक्दिएँ हाम्रा नेता तथा सभासदहरुलाई !!

आज संसारकी सबै भन्दा "सुपर हिट" देवी लक्ष्मीको पूजा गर्ने दिन लक्ष्मीपूजा !!
उनको कृपाको चक्करमा तालु बगर हुन लाग्दा पनि खै अहिले सम्म लक्ष्मी माताको "तथास्तु" पाउन सक्या होइन, तै पनि कोटी कोटी प्रणाम माता!!
मनको दियोमा आँसुको तेल थप्दै आशाको बाती बालेर तिम्रो स्वागतमा बसेका गाउँका अँध्यारा बस्तीहरुमा कहिल्यै नचिहाउने सधैं ठुला बडा र शहरका "सुकिला मुकिला"हरुका वरि परि बिराज हुन मन पराउने तिम्रो लीला बिचित्रै भो माता !!! सधैं शहरको झिलिमिलीमा मात्र नभुल्नू, यसो गाउँका झुपडीहरु तिर पनि पाइला टेक्दै गर्नू !!

दसैंलाई एउटा प्रश्न !

Friday, September 30, 2011


"धनीको लागि मोज पर्ब बनेर,
गरिबको लागि बोझ पर्ब बनेर,
घुम्दै फिर्दै आइपुग्यो दसैं
पशु पंक्षिका लागि कोतपर्ब बनेर" 

 केही दिन अघी मैले फेसबूक लगायतका सामाजिक सन्जालहरुमा टाँसेका हरफहरु हुन् यी। शब्दहरुमा अभिव्यक्त भए झैँ दसैं प्रती मेरो पुरै बितृष्णा त होइन तर बाल्यकाल देखी नै एउटा प्रश्न दसैं वरीपरी मेरो मनमा खेली रहन्छ - के बलीको नाममा निरिह पशु पंक्षिको रगतको खोलो बगाएर साँच्ची नै धर्म हुन्छ त ?

“मुस्ताङ् क्रान्ति जिन्दाबाद !”

Saturday, September 3, 2011

  
अत्याचार, शोषण, दमन र भिभेदका बिरुद्ध भन्दै रोल्पाबाट क्रान्ति सुरुवात गरेका बाबुराम भट्टराईले देशको प्रधानमन्त्री भए लगत्तै फेरी बिलाशिता र अपव्ययिताका बिरुद्ध मुस्ताङ्बाट क्रान्ति सुरु गर्ने जमर्को गर्दै छन् । रोल्पाबाट सुरु भएको क्रान्ति कती सफल भयो, कती असफल भयो, कसलाई  रुवायो र कसलाई हसायो यसको लेखा जोखा ईतिहासले गर्दै जाला तर मुस्ताङ्बाट सुरु भएको यो क्रान्ति सफल हुनै पर्छ भन्ने कामना मेरो र लाखौं लाख नेपालीको छ।

प्रधानमन्त्री पदमा आशिन भए लगत्तै सवा करोड भन्दा बढी महँगो पर्ने सुबिधा सम्पन्न बिलाशी गाडी लत्त्याएर भट्टराईले नेपालमा “एसेम्बल्ड” भएको मुस्ताङ् गाडी रोजे आफ्नो सवारी साधानको रुपमा । आफ्नो भोग बिलाशी दैनिकी मा धक्का पुग्ने महसुस गरेका  केही बिलाशीहरुले भट्टराईको यो कार्यलाई सस्तो लोकप्रियाताको लागि गरिएको नौटंकी भने पनि आम जनताले यस कार्यलाई निकै सकारात्मक रुपमा लिएका छन् । “जुन जोगी आए पनि कानै चिरेको” भन्दै प्रधानमन्त्रीको कुर्चीमा को आउँछ को जान्छ वास्ता गर्नै छाडेका नेपाली जनतामा यो जोगी त अली फरक पो हो कि भन्ने अनुभुती गराएको छ। यसले निराश मनहरुमा केही आशाका किरणहरु जगाएको छ। 

भिर गौँथली र बाजहरु !

Saturday, July 23, 2011





भिर गौंथलिको बस्तिमा
बाजहरुको संग्रामले
बन्दा बन्दै भत्केका  
हाम्रा गुँडहरु 
कहिले बन्ने हुन् फेरी ! 
 

झिल्को बाँकीनै भए पनि
डढेलो खै निभ्यो नै भन्थे
बाजहरुले बुझ्दै बुझेनन्
कसले हावा दि'रहेको
यी झिल्कोहरुमा !

देश खाने कथा - ( १ )

Tuesday, June 21, 2011



१.  सयौं पशु एकै ठाम्
काम साम, बसी बसी माम् - को हो? 

२ .
बोली मा गोली कपटी चाल
बाउन्न तिक्डम्, त्रिपन्न ताल     
झल्लु जी का महाकाल - को हो?


३.  जनताको लात, भारतको साथ,
चुनावमा आलु खाए पनि पेंडाको धाक,
फर्सी जस्तो अनुहारमा घिरौंला जस्तो नाक - को हो?

सातपत्रे फिल्टरको करामत !

Sunday, June 5, 2011


ओहो ! के अचम्म भो आज, सधैं ईराक, अफगानिस्तान, लिबिया सिरियाका भिडन्तका दृष्यहरु मात्र देखाउने बिबिसी, सिएनएन, अल्जजिरा जस्ता टाउके न्युज च्यानलहरु मात्र होइन भारतीय रंगिला न्युज च्यानलहरुले पनि घोक्रो फुलाई फुलाई नेपाल बारे समाचार दिइरहेका रहेछन्। जुन न्युज च्यानल हेरे पनि नेपालमय ल्याप्टप उप्काएर यसो इन्टरनेटमा समाचारहरु हेरेँ त्यहाँ भित्र पनि अटाइ नअटाइ नेपालकै त्यस्तै समाचारहरु लिपिएका छन्। हाम्रा एक जना जुँगे नेताले "चमत्कार" गर्छौं भन्थे साँचै चमत्कार गरेछन् कि क्याहो ! दंग परेँ जीवनमा पहिलो पल्ट होला सायद नेपाली हुनुमा यती धेरै गर्व लागिरहेको थियो आज मलाई।
 
समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार कुनै नेताले होइन नेपालका युवा बैज्ञानिकहरुले गरेका रहेछन्। त्यसो साना तिना राष्ट्रिय स्तरका चमत्कारहरु ती युवा बैज्ञानिकहरुले पहिला पनि गर्दै आइरहेकै हुन् कवाडीखानाबाट बिभिन्न थोत्रा मिशिनका पुर्जाहरु , नटबोल्टहरु ल्याएर त्यसमा भएभरको गिदी खियाएर तान् तुन्, ठोक् ठाक् कस् कास् पारेर कहिले हावाइजहाज बनाएर उडाए कहिले रोबोट बनाएर हिँडाए कै हुन् तर यस पाली भने अन्तरराष्ट्रिय स्तरको चमत्कार गरेछन् उनिहरुले, मान्छेलाई साँचो बोलाउने मिशिन आविस्कार गरेर। बैज्ञानिकहरु दाबी गर्दै थिए- " अब यो मिशिनको संपर्कमा आउने जो सुकैले पनि झुटो बोल्न सक्ने छैन।

गह भरिएको त्यो क्षण

Sunday, May 22, 2011



"भन्छन् मर्दको छोराले रुनु हुन्न रे

तर किन किन ........ गह भरिएर आउँछ"


गायक योगेश्वर आमात्यले गाएको गीताअंश आधा अधुरै भए पनि उद्दरण गरेँ यहाँ निर । गीतका शब्दहरुले रुनु हुँदैन भने पनि खुशीमा हास्ने मन दु:खमा नरोइ बस्न कहाँ मान्छ र ? मलाई लाग्छ मनको बाँध भत्केपछि कुनै "मर्द" ले पनि छेक्न सक्दैन आँखाबाट छल्किनको लागि । फरक यत्ती हो कोही उज्ज्यालोमा रुन्छन्, कोही अँध्यारोमा रुन्छन्, कोही देखिने गरी रुन्छन् त कोही कोही लुकेर रुन्छन् । अती खुशी, अती दुखी, भावोत्तेजना वा क्रोधमा धेरैको गह भरिएको देखेको छु मैले तर आज आफ्नै गह भरिएको "नामर्दी" कथा लेख्दै छु।

लादेन, अमेरिका र भष्मासुर

Monday, May 9, 2011

यस पाली चैँ लादेन बाजे सुइँकेकै रहेछन् यो बीश्वास गर्न मलाई झन्डै एक हप्ता लाग्यो। किन भने बुढा पहिला पनि धेरै चोटि मरिसकेका हुन्। कहिले अफगानिस्तानको तोराबोरामा मरे कहिले किड्नी फेल भएर मरे। सन् २००१ देखी किस्ताबन्दीमा मर्न सुरु गरेका बुढा २०११ मा बल्ल मृत्युको पुरा किस्ता चुक्ता गरे।
 
फेसबूक ट्विटरमा मजदुर साथीहरुलाई अन्तरराष्ट्रिय मजदुर दिवसको शुभकामना बाँड्दै गर्दा "लादेनको मृत्यु" भन्ने खबर चैते डढेलो झै फैलीसकेको रहेछ। मैले खासै चासो दिइन। भन्नाले बिश्वास लागेन। पछी इन्टरनेटमा यसो समाचारहरु खोजेको रगतपच्छे भएको लादेनको लाशको तस्विर पो देखेँ मृत्यु भएका लादेनको तस्विर मुसुक्क हासेको केही बोलिहाल्छ कि जस्तो देखियो लौ बुढाले हासी हासी पो गोली थापेछन् जस्तो लाग्यो तस्विरलाई नियालेर हेर्दा पो लाग्यो " दालमे कुछ काला हैं " मेरो मनले त्यती बेलै घोषणा गर्यो "लादेनलाई अमेरिकाले होइन ग्राफिक्सले मारेको रहेछ।" नभन्दै त्यो तस्विर फोटोशपबाट चलाखी गरेर मिलाइएको ठहरियो गोली लागेर आधा अनुहार रक्तमुछेल हुनु आधा अनुहारमा रगतको एक छिटा सम्म नपर्नुले "अक्कल बिनाको नक्कल" भनेझै ग्राफिक्स्को धोती त्यही निर खुस्केको थियो।  ग्राफिक्सले मार्न नजाने पनि अमेरिकाले मारेकै रहेछ खैर यो कुरा यही बिसाउँ