देश खाने कथा - ( १ )

Tuesday, June 21, 2011



१.  सयौं पशु एकै ठाम्
काम न साम, बसी बसी माम् - को हो? 

२ .
बोली मा गोली कपटी चाल
बाउन्न तिक्डम्, त्रिपन्न ताल     
झल्लु जी का महाकाल - को हो?


३.  जनताको लात, भारतको साथ,
चुनावमा आलु खाए पनि पेंडाको धाक,
फर्सी जस्तो अनुहारमा घिरौंला जस्तो नाक - को हो?

सातपत्रे फिल्टरको करामत !

Sunday, June 5, 2011


ओहो ! के अचम्म भो आज, सधैं ईराक, अफगानिस्तान, लिबिया र सिरियाका भिडन्तका दृष्‍यहरु मात्र देखाउने बिबिसी, सिएनएन, अल्जजिरा जस्ता टाउके न्युज च्यानलहरु मात्र होइन भारतीय रंगिला न्युज च्यानलहरुले पनि घोक्रो फुलाई फुलाई नेपाल बारे समाचार दिइरहेका रहेछन्। जुन न्युज च्यानल हेरे पनि नेपालमय । ल्याप्टप उप्काएर यसो इन्टरनेटमा समाचारहरु हेरेँ त्यहाँ भित्र पनि अटाइ नअटाइ नेपालकै त्यस्तै समाचारहरु लिपिएका छन्। हाम्रा एक जना जुँगे नेताले "चमत्कार" गर्छौं भन्थे साँचै चमत्कार गरेछन् कि क्याहो ! म दंग परेँ । जीवनमा पहिलो पल्ट होला सायद नेपाली हुनुमा यती धेरै गर्व लागिरहेको थियो आज मलाई।
 
समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार कुनै नेताले होइन नेपालका युवा बैज्ञानिकहरुले गरेका रहेछन्। त्यसो त साना तिना राष्ट्रिय स्तरका चमत्कारहरु ती युवा बैज्ञानिकहरुले पहिला पनि गर्दै आइरहेकै हुन् । कवाडीखानाबाट बिभिन्न थोत्रा मिशिनका पुर्जाहरु , नटबोल्टहरु ल्याएर त्यसमा भएभरको गिदी खियाएर तान् तुन्, ठोक् ठाक् र कस् कास् पारेर कहिले हावाइजहाज बनाएर उडाए त कहिले रोबोट बनाएर हिँडाए कै हुन् । तर यस पाली भने अन्तरराष्ट्रिय स्तरको चमत्कार गरेछन् उनिहरुले, मान्छेलाई साँचो बोलाउने मिशिन आविस्कार गरेर। बैज्ञानिकहरु दाबी गर्दै थिए- " अब यो मिशिनको संपर्कमा आउने जो सुकैले पनि झुटो बोल्न सक्ने छैन।

गह भरिएको त्यो क्षण

Sunday, May 22, 2011



"भन्छन् मर्दको छोराले रुनु हुन्न रे

तर किन किन ........ गह भरिएर आउँछ"


गायक योगेश्वर आमात्यले गाएको गीताअंश आधा अधुरै भए पनि उद्दरण गरेँ यहाँ निर । गीतका शब्दहरुले रुनु हुँदैन भने पनि खुशीमा हास्ने मन दु:खमा नरोइ बस्न कहाँ मान्छ र ? मलाई लाग्छ मनको बाँध भत्केपछि कुनै "मर्द" ले पनि छेक्न सक्दैन आँखाबाट छल्किनको लागि । फरक यत्ती हो कोही उज्ज्यालोमा रुन्छन्, कोही अँध्यारोमा रुन्छन्, कोही देखिने गरी रुन्छन् त कोही कोही लुकेर रुन्छन् । अती खुशी, अती दुखी, भावोत्तेजना वा क्रोधमा धेरैको गह भरिएको देखेको छु मैले तर आज आफ्नै गह भरिएको "नामर्दी" कथा लेख्दै छु।

लादेन, अमेरिका र भष्मासुर

Monday, May 9, 2011

यस पाली चैँ लादेन बाजे सुइँकेकै रहेछन् । यो बीश्वास गर्न मलाई झन्डै एक हप्ता लाग्यो। किन भने बुढा पहिला पनि धेरै चोटि मरिसकेका हुन्। कहिले अफगानिस्तानको तोराबोरामा मरे त कहिले किड्नी फेल भएर मरे। सन् २००१ देखी किस्ताबन्दीमा मर्न सुरु गरेका बुढा २०११ मा बल्ल मृत्‍युको पुरा किस्ता चुक्ता गरे।
 
फेसबूक र ट्विटरमा मजदुर साथीहरुलाई अन्तरराष्ट्रिय मजदुर दिवसको शुभकामना बाँड्दै गर्दा "लादेनको मृत्‍यु" भन्ने खबर चैते डढेलो झै फैलीसकेको रहेछ। मैले खासै चासो दिइन। भन्नाले बिश्वास लागेन। पछी इन्टरनेटमा यसो समाचारहरु खोजेको त रगतपच्छे भएको लादेनको लाशको तस्विर पो देखेँ । मृत्‍यु भएका लादेनको तस्विर त मुसुक्क हासेको र केही बोलिहाल्छ कि जस्तो देखियो । लौ बुढाले त हासी हासी पो गोली थापेछन् जस्तो लाग्यो । तस्विरलाई नियालेर हेर्दा पो लाग्यो " दालमे कुछ काला हैं । " मेरो मनले त्यती बेलै घोषणा गर्‍यो "लादेनलाई अमेरिकाले होइन ग्राफिक्सले मारेको रहेछ।" नभन्दै त्यो तस्विर फोटोशपबाट चलाखी गरेर मिलाइएको ठहरियो । गोली लागेर आधा अनुहार रक्तमुछेल हुनु र आधा अनुहारमा रगतको एक छिटा सम्म नपर्नुले "अक्कल बिनाको नक्कल" भनेझै ग्राफिक्स्को धोती त्यही निर खुस्केको थियो।  ग्राफिक्सले मार्न नजाने पनि अमेरिकाले मारेकै रहेछ खैर यो कुरा यही बिसाउँ ।

"शुभकामना नयाँ बर्ष-२०६८ को "

Monday, April 11, 2011

                     

                   नयाँ बर्ष २०६८ को उपलक्ष्यमा
                          मेरा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना !

 


नयाँ बर्ष मनाउने केही अनौठा चलनहरु

स्पेन:
स्पेनमा नयाँ बर्ष सुरु हुने रातको ठीक बार्‍ह बजे बार्‍ह वटा अङ्गुरको दाना घडीको प्रत्येक सेकेन्ड सँगै एक एक गरेर खाइन्छ । ती बार्‍ह अङ्गुरका दानालाई भाग्यका प्रतिक मान्दै त्यो खाएमा बर्षको बार्‍है महिना सुख समृद्धी र भाग्य भित्रिने विश्वास गरिन्छ।

स्कटल्यान्ड:
स्कटिसहरु नयाँ बर्षको बेला आफ्नो घरमा झुल्कने पहिलो आगन्तुकलाई त्यो बर्षको भाग्य जाँच्ने कसी ठान्छन् । यस प्रथालाई स्कटल्यान्डमा "फस्ट फूटिङ" (first footing) भनिन्छ । उनिहरुको घरमा आउने पहिलो आगन्तुक पुरुषनै भएमा र त्यो पनि जिउडाल चटक्क मिलेको अग्लो, गाढा रङको सुन्दर  भएमा त्यो ब्यक्ती लछिन लिएर आएको मानिन्छ । त्यो ब्यक्ती व्हिस्की उपहार लिएर आएको छ भने त झन् त्यो बर्ष खुशी र उमंगमा बित्ने विश्वास गर्छन् उनिहरु। आगन्तुक ब्यक्ती मुल ढोकाबाट प्रबेश गरेर पछाडिको ढोकाबाट बाहिरिएमा बर्षभरी फलिफाप हुने मानिन्छ।

केही ईतिहासका कुरा

Thursday, April 7, 2011

     "A man who is very busy seldom changes his opinions."

                                                                                                 - Friedrich Nietzsche

प्रशिद्ध जर्मन दार्शनिक फ्रेडरिक नीत्शेले भनेझैं आफ्नो मत आफ्नो बिचार अपडेट गर्न नसक्ने भएको छु म हिजो आज। उपरोक्त भनाइ मेरो दैनिकी सँग झन्डै झन्डै मेल खान पुगेको छ  अचेल। परदेशको बसाइ काम नगरे दाम नआउने, दाम नआए माम नआउने। "नुनको सोझो" गर्ने क्रममा कहिलेकाहिं नुन एती चर्को भाईदिन्छ कि इच्छा आकांक्षाहरु सबै पोको पारेर राख्नु पर्दो रहेछ। बोझिलो बर्तमान सँग संघर्ष गर्ने क्रममा निजी समय अत्यन्त कम हुने भएकोले ब्लग सुरु त गरियो तर यसलाई निरन्तरता दिन धौ धौ परेको छ। छिटो छिटो ब्लग अपडेट गर्न सकिएको छैन। "मासिक ब्लग" भन्दै केही साथीहरुले ब्यङ्यात्मक दुखेसो गर्नु भएको छ। धन्यवाद ती शुभचिन्तक मित्रहरुलाई जसले मलाई निरन्तरताको लागि खबरदारी गरी रहनु भएको छ। अती ब्यस्तताका बाबजुद समयको तालमेल मिलाउने प्रयासमा छु म ।

मन र मस्तिष्क एकाकार नभएपछी रचनाहरु जन्मन गार्‍हो हुँदो रहेछ । आज ब्लग अपडेट गर्ने बहानामा अलिकती फरक रुपमा प्रस्तुत भएको छु। धेरै पहिला मैले ब्लग सुरु गर्नु भन्दा अघी "वेबसाइट महासागर" भित्र गोता मार्दै गर्दा केही मन छुने तस्विरहरु भेटेको थिएँ । आज मेरो कम्प्युटरमा संचित गरिएका तस्विरहरुको फोल्डर खोल्ने क्रममा ती तस्विरहरुमा नजर पर्‍यो। कला र ईतिहास मेरो रुचीका बिषय भएको र यि दुबैको प्रतिबिम्ब यि तस्विरहरुमा देखिएकोले मलाई राम्रो लागेर यी ऐतिहासिक सामाग्रीहरुलाई ब्लग अपडेट गर्ने बहाना बनाएको छु । यहाँहरुलाई कस्तो लाग्ला कुन्नी?
                                                  ठुलो गरी हेर्न तस्विरहरुमा क्लिक गर्नुहोला। 

"उर्भर फाँटको बिचमा सलल कंचन बागमती" -१५८ बर्ष अघिको काठमाडौं । 
  चित्रकार डा हेनरी एम्ब्रोज ओल्डफिल्डले यो चित्र सन् १८५३ अप्रिलमा बनाएका रहेछन् । पाटन     तिर  उक्लने एउटा उकालोमा बसेर काठमाडौंको यो दृष्य उतारिएको रहेछ।