मखमली फुल्दा मार्सी धान झुल्दा....!!

Wednesday, October 26, 2011

     
हिजो कुकुर तिहार रहेछ कुकुर तिहारको शुभकामना ठोक्दिएँ हाम्रा नेता तथा सभासदहरुलाई !!

आज संसारकी सबै भन्दा "सुपर हिट" देवी लक्ष्मीको पूजा गर्ने दिन लक्ष्मीपूजा !!
उनको कृपाको चक्करमा तालु बगर हुन लाग्दा पनि खै अहिले सम्म लक्ष्मी माताको "तथास्तु" पाउन सक्या होइन, तै पनि कोटी कोटी प्रणाम माता!!
मनको दियोमा आँसुको तेल थप्दै आशाको बाती बालेर तिम्रो स्वागतमा बसेका गाउँका अँध्यारा बस्तीहरुमा कहिल्यै नचिहाउने सधैं ठुला बडा र शहरका "सुकिला मुकिला"हरुका वरि परि बिराज हुन मन पराउने तिम्रो लीला बिचित्रै भो माता !!! सधैं शहरको झिलिमिलीमा मात्र नभुल्नू, यसो गाउँका झुपडीहरु तिर पनि पाइला टेक्दै गर्नू !!

दसैंलाई एउटा प्रश्न !

Friday, September 30, 2011


"धनीको लागि मोज पर्ब बनेर,
गरिबको लागि बोझ पर्ब बनेर,
घुम्दै फिर्दै आइपुग्यो दसैं
पशु पंक्षिका लागि कोतपर्ब बनेर।" 

 केही दिन अघी मैले फेसबूक लगायतका सामाजिक सन्जालहरुमा टाँसेका हरफहरु हुन् यी। शब्दहरुमा अभिव्यक्त भए झैँ दसैं प्रती मेरो पुरै बितृष्णा त होइन तर बाल्यकाल देखी नै एउटा प्रश्न दसैं वरीपरी मेरो मनमा खेली रहन्छ - के बलीको नाममा निरिह पशु पंक्षिको रगतको खोलो बगाएर साँच्ची नै धर्म हुन्छ त ?

“मुस्ताङ् क्रान्ति जिन्दाबाद !”

Saturday, September 3, 2011

  
अत्याचार, शोषण, दमन र भिभेदका बिरुद्ध भन्दै रोल्पाबाट क्रान्ति सुरुवात गरेका बाबुराम भट्टराईले देशको प्रधानमन्त्री भए लगत्तै फेरी बिलाशिता र अपव्ययिताका बिरुद्ध मुस्ताङ्बाट क्रान्ति सुरु गर्ने जमर्को गर्दै छन् । रोल्पाबाट सुरु भएको क्रान्ति कती सफल भयो, कती असफल भयो, कसलाई  रुवायो र कसलाई हसायो यसको लेखा जोखा ईतिहासले गर्दै जाला तर मुस्ताङ्बाट सुरु भएको यो क्रान्ति सफल हुनै पर्छ भन्ने कामना मेरो र लाखौं लाख नेपालीको छ।

प्रधानमन्त्री पदमा आशिन भए लगत्तै सवा करोड भन्दा बढी महँगो पर्ने सुबिधा सम्पन्न बिलाशी गाडी लत्त्याएर भट्टराईले नेपालमा “एसेम्बल्ड” भएको मुस्ताङ् गाडी रोजे आफ्नो सवारी साधानको रुपमा । आफ्नो भोग बिलाशी दैनिकी मा धक्का पुग्ने महसुस गरेका  केही बिलाशीहरुले भट्टराईको यो कार्यलाई सस्तो लोकप्रियाताको लागि गरिएको नौटंकी भने पनि आम जनताले यस कार्यलाई निकै सकारात्मक रुपमा लिएका छन् । “जुन जोगी आए पनि कानै चिरेको” भन्दै प्रधानमन्त्रीको कुर्चीमा को आउँछ को जान्छ वास्ता गर्नै छाडेका नेपाली जनतामा यो जोगी त अली फरक पो हो कि भन्ने अनुभुती गराएको छ। यसले निराश मनहरुमा केही आशाका किरणहरु जगाएको छ। 

भिर गौँथली र बाजहरु !

Saturday, July 23, 2011





भिर गौंथलिको बस्तिमा
बाजहरुको संग्रामले
बन्दा बन्दै भत्केका  
हाम्रा गुँडहरु 
कहिले बन्ने हुन् फेरी ! 
 

झिल्को बाँकीनै भए पनि
डढेलो त खै निभ्यो नै भन्थे
बाजहरुले बुझ्दै बुझेनन्
कसले हावा दि'रहेको छ
यी झिल्कोहरुमा !

देश खाने कथा - ( १ )

Tuesday, June 21, 2011



१.  सयौं पशु एकै ठाम्
काम न साम, बसी बसी माम् - को हो? 

२ .
बोली मा गोली कपटी चाल
बाउन्न तिक्डम्, त्रिपन्न ताल     
झल्लु जी का महाकाल - को हो?


३.  जनताको लात, भारतको साथ,
चुनावमा आलु खाए पनि पेंडाको धाक,
फर्सी जस्तो अनुहारमा घिरौंला जस्तो नाक - को हो?

सातपत्रे फिल्टरको करामत !

Sunday, June 5, 2011


ओहो ! के अचम्म भो आज, सधैं ईराक, अफगानिस्तान, लिबिया र सिरियाका भिडन्तका दृष्‍यहरु मात्र देखाउने बिबिसी, सिएनएन, अल्जजिरा जस्ता टाउके न्युज च्यानलहरु मात्र होइन भारतीय रंगिला न्युज च्यानलहरुले पनि घोक्रो फुलाई फुलाई नेपाल बारे समाचार दिइरहेका रहेछन्। जुन न्युज च्यानल हेरे पनि नेपालमय । ल्याप्टप उप्काएर यसो इन्टरनेटमा समाचारहरु हेरेँ त्यहाँ भित्र पनि अटाइ नअटाइ नेपालकै त्यस्तै समाचारहरु लिपिएका छन्। हाम्रा एक जना जुँगे नेताले "चमत्कार" गर्छौं भन्थे साँचै चमत्कार गरेछन् कि क्याहो ! म दंग परेँ । जीवनमा पहिलो पल्ट होला सायद नेपाली हुनुमा यती धेरै गर्व लागिरहेको थियो आज मलाई।
 
समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार कुनै नेताले होइन नेपालका युवा बैज्ञानिकहरुले गरेका रहेछन्। त्यसो त साना तिना राष्ट्रिय स्तरका चमत्कारहरु ती युवा बैज्ञानिकहरुले पहिला पनि गर्दै आइरहेकै हुन् । कवाडीखानाबाट बिभिन्न थोत्रा मिशिनका पुर्जाहरु , नटबोल्टहरु ल्याएर त्यसमा भएभरको गिदी खियाएर तान् तुन्, ठोक् ठाक् र कस् कास् पारेर कहिले हावाइजहाज बनाएर उडाए त कहिले रोबोट बनाएर हिँडाए कै हुन् । तर यस पाली भने अन्तरराष्ट्रिय स्तरको चमत्कार गरेछन् उनिहरुले, मान्छेलाई साँचो बोलाउने मिशिन आविस्कार गरेर। बैज्ञानिकहरु दाबी गर्दै थिए- " अब यो मिशिनको संपर्कमा आउने जो सुकैले पनि झुटो बोल्न सक्ने छैन।

गह भरिएको त्यो क्षण

Sunday, May 22, 2011



"भन्छन् मर्दको छोराले रुनु हुन्न रे

तर किन किन ........ गह भरिएर आउँछ"


गायक योगेश्वर आमात्यले गाएको गीताअंश आधा अधुरै भए पनि उद्दरण गरेँ यहाँ निर । गीतका शब्दहरुले रुनु हुँदैन भने पनि खुशीमा हास्ने मन दु:खमा नरोइ बस्न कहाँ मान्छ र ? मलाई लाग्छ मनको बाँध भत्केपछि कुनै "मर्द" ले पनि छेक्न सक्दैन आँखाबाट छल्किनको लागि । फरक यत्ती हो कोही उज्ज्यालोमा रुन्छन्, कोही अँध्यारोमा रुन्छन्, कोही देखिने गरी रुन्छन् त कोही कोही लुकेर रुन्छन् । अती खुशी, अती दुखी, भावोत्तेजना वा क्रोधमा धेरैको गह भरिएको देखेको छु मैले तर आज आफ्नै गह भरिएको "नामर्दी" कथा लेख्दै छु।