मरुभूमीको एउटा फूल

Friday, January 14, 2011

"मेरो बाबा आमाका पाँच सन्तान् मध्य जेठी हुँ म। मेरो नाम वुरुद हो। तीन बर्ष भयो मेरो परिवार सँग बिछोडिएर मामाघर बस्न थालेको।"
बोल्दा बोल्दै एकछिन रोकिई अनि लामो श्वास फेर्दै बिगतमा फर्की -"हाम्रो एउटा सुखी खुशी परिवार थियो राजाधानी बगदादमा। आफ्नै घरमा ठुलो किराना पसल थापेका थियौँ। बाबा पसलमा बस्नु हुन्थ्यो। आमा घरको काममा ब्यस्त हुनुन्थ्यो भने भाई बहिनीहरु विद्यालय जान्थ्यौं। रमाइला दिनहरु थिए ती। आफ्नै घर आँगनमा खेल्थ्यौँ, कुद्थ्यौँ हामीहरु। आमाले खाना साह्रै स्वादिस्ट बनाउनुहुन्थ्यो। बिशेष गरि आमाले बनाएको माछाको पारीकार मलाई खुब सम्झना आउँछ। फुर्सद्को बेला बाबाले हामीलाई पालै पालो मोटरसाइकलमा राखेर घुमाउनु हुन्थ्यो।"
बिगत सम्झेर भक्कानीई ऊ।
 "सन् २००६ मा घटेको एउटा घटनाले हाम्रो खुशीको संसार छिन्न भिन्न भयो। अमेरिका ईराकमा प्रबेश गरेपछि उसलाई यहाँबाट धपाउने नाममा धार्मिक कट्टरवादीहरुले बिभिन्न लडाकु संगठनहरु 'मुजाहिद्दिन' गठन गरे। ती संगठनहरुले अमेरिकी गठबन्धन  उनीहरु समर्थकलाई अन्धा धुन्ध आक्रमण गर्न थाले। हाम्रो घर नजिकै एउटा ठुलो जामे मश्जिद थियो। एक दिन 'मुजाहिद्दिन' हरुले मश्जिद कब्जामा लिएर प्रार्थना गर्न गएका सयौं सर्बसाधारणलाई बन्धक बनाए। उनीहरुको रिहाइको सर्तमा अमेरिकी गठबन्धनले शहर छाड्नुपर्ने भयो। तर अमेरिकी गठबन्धनले 'मुजाहिद्दिन' हरुको सर्त अस्विकार गर्दै मश्जिद घेरा हालेर बल पूर्वक सर्बसाधारणलाई मुक्त गर्ने प्रयास गर्यो। यस क्रममा भएको भीषण भिडन्त दोहोरो गोला बारीमा मश्जिद ध्वस्त भयो। केही बाँच्न सफल भए भने धेरै सर्बसाधारण मारिए। वरिपरीका कैयौं भौतिक सम्रचनाहरुमा क्षती पुग्यो। यसै क्रममा मश्जिद नजिकै रहेको हाम्रो घर पनि जगै देखि गर्ल्याम गुर्लुम्म लड्यो।"
 यी शब्दहरु बोल्दै गर्दा वुरुदको अनुहारमा मैले अथाह पींडा देखेको थिएं पनि बोल्दै गई-"यसरी हाम्रो परिवार एका एक सडकमा आइपुग्यो। तै पनि आफन्त शुभ चिन्तकहरुको सहयोगमा दिनहरु बित्दै थिए। यत्तिकैमा सर्बस्व गुमाएका हामीहरु माथि अमेरिकीहरुलाई सहयोग गरेको भन्दै 'देशद्रोही' भएको आरोप लगाएर जीउ ज्यान लिने धम्की आउन थाल्यो बिभिन्न समुह ब्यक्तिबाट। त्यसैले एक दिन बाबा आमाले वाध्य भएर ईराक छाड्ने निधो गर्नु भयो। मलाई मामाघरको जिम्मा लगाएर उहाँहरु साना भाई बहिनीसहित सिरिया प्रबेश गर्ने बेलामा भएको हाम्रो रुवाबासी सम्झिँदा आज पनि मेरो मनमा भक्कानो परेर आउँछ।"
 यकीन तिथी मिती हेक्का छैन तर मलाई लाग्छ सन् २००८ को अन्तिम महिना हुनुपर्छ सायद त्यो त्यही महिनाको एक चीसो बिहानीमा  पोखीएका थिए यी मर्मभेदी शब्दहरु।   ईराकको एक सुरक्षा नाकामा 'प्राबिधिक गड्बडी'को कारण झन्डै तीन घण्टा बियाँलो हुने क्रममा परिचय आदान प्रदान गरेका थियौं हामीले पहिलो पटक। चन्द्रमा जस्तो मुहार, मृगका जस्ता नयन्, शितले भिजेका गुलाफपत्र जस्ता रसिला ओंठ आदि एक भाबुक प्रेमिले आफ्नी प्रेमिकालाई दिने उपमाहरु पुराना सस्तो भइसक्यो।  यहाँ बस् यती मात्र भनौं जस्तो नाम् उस्तै रुप रङ थियो उसको।  वुरुद रहेछ उसको नाम। वुरुद अर्थात गुलाफ। अरबिक भाषामा गुलाफलाई वुरुद भनिदो रहेछ। उसको साथमा बसेको  त्यस्तै २५/२६ बर्षको एक पुरुषलाई उसले मामा भनेर चिनाएकी थिइ। उसको आफ्नै मामा रे, मोहम्मद रहेछ उसको नाम। एउटै कम्पनीमा काम गर्दा रहेछन् उनीहरु। उनिहरुको टुटेफुटेको अङ्रेजी मेरो टुटेफुटेको अरबिक भाषा एक सहज माध्यम बनेको थियो  हामी बिच। अति फरासिला रहेछन् उनिहरु दुबै जना। त्यो तीन घण्टाको बसाइमा उनिहरु यती सहजरुपमा प्रस्तुत भए मानौं हामी चीर पारीचित छौं एक अर्का बिच। मेरो नाम उच्चाहरण गर्न उनिहरुको अरबिक जिब्रोलाई अप्ठेरो भइरहेको थियो। त्यसैले उनिहरुले मलाई 'अखुय'(दाजु) भनेर सम्बोधन गर्दै थिए। मलाई पनि यो बिरानो ठाउँमा यो साईनोले आफ्नोपनको महसुस गराइरहेको थियो। कुराकानीको क्रममा वुरुद्ले मामाघरमा बस्दैआइरहेको छु भनेकोले कारण खोतल्ने क्रममा उसको दुखान्त बिगतमा फर्केकी थिई ऊ।
आफ्नो मर्मान्त बिगत सुनाउदै गर्दा वुरुद्को आँखामा आसुँ टिल्पिलाइ रहेको मैले देखें। उता मोहम्मद्को पनि आँखा रसिला भएका थिए र मेरो पनि मन भारी भएको मैले महसुस गरेँ।भन्नु सुन्नु पर्ने कुराहरु सायद अझै बाँकी नै थियो,समयले हामीलाई -आफ्नो गन्तव्य तर्फ लाग्न संकेत गरेकोले त्यस दिन कुराहरु अधुरै रह्यो।लामो समयान्तर पछी सन् २००९ को चौथो महिना तिर हो क्यारे सायद् मैले दोश्रो पटक देखेको थिएं उनिहरुलाई। त्यस दिन वुरुद्लाई मैले अली भिन्न जस्तो देखेँ। अलिकती खुशी, अलिकती चन्चल, अलिकती लज्जाबोध यस्तै यस्तै। कारण जान्न चाहें त्यो परिवर्तनको। मोहम्मद्ले लग भग कानेखुसी पारामा भन्यो- "वुरुदको बिहे हुने भयो नि"मैले थप जिज्ञासा राख्नै परेन, वुरुदको औंलामा झल्किरहेको औंठी उसको खुशीको प्रमाण थियो। एयरपोर्टमा कार्यरत सरकारी जागिरे रहेछ उसको हुने वाला जीवनसाथी। एक महिना भित्रमा बिहे हुने कुरा मोहम्मदले बतायो। मैले बधाई र शुभकामना दिएँ। जाँदा जाँदै वुरुद्ले भनी-"लामो समय पछी म मेरो बाबा आमालाई भेट्न गइरहेको छु। त्यसैले म धेरै खुशी छु।"मैले पनि सदा त्यस्तै खुशी रहनू भन्ने कामना गरें मन मनै,र त्यस दिन छुट्टीदै गर्दा लागेको थियो सायद अब हाम्रो भेट हुने छैन। त्यस्तै नै भयो फेरी हाम्रो भेट भएन।
केही हप्ता पछी मोहम्मद सँग भेट भयो सोही नाकामा। ऊ अब एक्लै थियो र दुखी पनि। त्यती फरासिलो मान्छे खुलेर बोल्न चाहिरहेको थिएन। मैले वुरुद्को बारेमा सोधें। ऊ अझै बोल्न चाहेन। मेरो धेरै प्रश्नहरु पछी ऊ एका एक भक्कानिदै बोल्यो- "वुरुद्को जिन्दगी बर्बाद भयो।""किन? के भयो?"- झस्केँ। त्यस पछी मोहम्मदले जे कुरा बातायो आफ्नै कान माथि बिस्वास् गर्न सकिन मैले एक पलको लागि। बिहे गरेको दुई महिना पनि नपुग्दै वुरुदको जीवनमा ग्रहण लाग्न पुगेछ। एक हप्ता अघी बगदादमा भएको कारबम बिष्फोटनले वुरुद्लाई बिधुवा बनाएको कुरा सुनिरहँदा मलाई वुरुद्ले बिगतमा भनेको एउटा कुरा मनमा झल्झली सम्झना आइरहेको थियो। एउटा भेटमा उसले ईराक युद्धले बनाएका बिधुवाहरुको प्रसँगमा भनेकी थिई-"कसरी महिलाहरु आफ्नो सारा जीवन कालो पर्दा भित्र बिताउदाहुन्। तर मलाई भने कपाल छोप्दा समेत उकुस्मुकुस् हुन्छ।" यदि मुश्लिम संस्कार् मान्ने हो भने अब त्यही वुरुद यो कलिलो उमेरमा सम्पूर्ण जीवन कालो पर्दा भित्र बिताउनु पर्ने छ। सारा इच्छा र आकांक्षाहरु मन भित्र दबाएर आसुँ पिएर बस्नु पर्ने छ अर्थात एउटा फूल पुरा फक्रिन नपाउंदै ओइलाउने छ। 




2 Comments:

tika said...

होइन प्रकाश जी कथा त सर्है दु:ख लाग्दो रहेछ नि वास्तविक नै हो कि क्याहो यस्तै कथा हरु अरु पनि पढ्न पाउ अरु दिन मा पनि

Anonymous said...

प्रकाश जी हजुर बाट लिखित लेख'मरुभमी को एउटा फुल' साह्रै मन पर्‍यो।
लेख निकै चाख लाग्दो र वास्तबिक पनि छ ईराक जस्तो युद्ध ग्रस्त क्षेत्र मा
हजारौ को कथा ब्यथा हरु सँग हजुर को लेख समर्पित छ,आगमी दिन हरु मा पनि
यसैगरी पढ्न पाउ साथै प्रगती को कामना पनि हजुर लाई ।।।।
KESHAV KHATRI,From-Baghdad,IRAQ

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!