" हो यार त्यो बौलाएकै हो " - अर्कोले थप्यो ।
एक कान दुई कान अनी मैदान भयो । कुरा माथि सम्म पुगेछ । मेरो मेनेजरले अफिसमा बोलाएर मेरो पागलपनको मौखिक परिक्षा लियो । हिजो सम्मको इमान्दार, मेहनेती र कर्त्ब्यनिस्ठ कामदार म आज एका एक अनेक प्रश्नहरुको सामना गरिरहेको थिएँ एक अपराधीले झैँ । अन्तत: म पागल ठहरिएँ उनिहरुको नजरमा र नेपाल फर्काइने भएँ ।
गती छाडेर छाडा बोल्दै हिंडेको छैन । इज्जतको आवरण उतारेर कसै सामु निर्लज्ज प्रस्तुत भएजस्तो पनि लाग्दैन । तै पनि पागलपनको कुन परिभाषा र मापदन्ड भित्र परें कुन्नी मलाई थाहा छैन। हो, नमिठो बिगतलाई भुल्ने बाहानामा मैले अबिराम सल्काउने चुरोट्को धुवाले कतिलाई पिरोल्यो होला । कहिले काहीँ पीँडक स्मृतिले मध्यरातमा ऐठन पार्दा कसैको निद्रामा बाधा पुगेहोला । मलाई अनुभुती नभएको होइन यी कुराहरु ।
मलाई पागलको संज्ञा दिनेहरुले एक पटक बुझ्ने प्रयास सम्म गरेनन् - “ किन तेरो यस्तो असामान्य बर्तमान ? “ सोधेको भए सायद पोखिदिन्थेँ बिषाद मेरो त्यो अतितको कथा ।