कुकुर भन्दा मान्छे को जात सानो हुन्छ र ?

Friday, December 23, 2011


गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।

भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् मेरा चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले "

कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " आँफै पैराको मुखाँ बसे'छु यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु ?"

कुबेरनन्दनले त्यही प्रश्न लाहुरेलाई सोध्न मात्र के भ्याएका थिए लाहुरे बसेको ठाउँबाट जुरुक्क उठेर हान्ने साँढेले झै करक्क गर्धन मर्काउँदै बोले - "अरे भाई मलाई पुन्य कमाउनु छैन, तपाईंहरुले नै कमाउनुस्। थोडै लुटेर कमाएको सम्पत्ती हो ? दुश्मन सँग लडेर, गोला बारुद सँग खेलेर जोडेको सम्पत्ती हो।" यती भन्दै लाहुरे त्यहाँबाट उठेर भुत्भुताउदै हिंडे।  

अब अन्तिम आशा ठाकुरेमा बाँकी रहेको थियो। अगुवाको त्यही प्रश्नको उत्तरमा ठाकुरे जिब्रो लर्बराउँदै बोल्यो - "भैहाल्छ नि किन नहुनु। तपाईं'रुले मेरो सप्पै रिन बेभार मिलाइदिनुस् त्यो जग्गा दिन्छु। " लौ परेन फसाद ! दिन रात रक्सी धोकेर नाग्बेली पर्दै हिंड्ने,जुवाको खालमा बसे पछी तीन दिन तीन रात पनि उठ्ने त्यो ठाकुरेको रिन ब्यबहारको जिम्मा लिएर के साध्य!! 

आशा मर्यो। आखिर मन्दिर बनाउने योजना नै रद्द गर्नु पर्ने अवस्था आयो। अगुवाले योजना रद्द भएको घोषणा गर्नै लागेको बेला एउटा महिलाको बोली सुनियो - " गर्छु मन्दिरलाई जग्गा दान !" सबैको नजर तिनै महिला माथि परे भेलामा गलल हाँसो चल्यो। त्यो हासो खिसीको थियो, ब्यङ्ग्यको थियो उपेक्षाको थियो। ती थीइन् मनसरी नेपाली। गाउँमा खरले छाएको एउटा सानो झुपडी उनको। अलिकती पाखो बारी गोठ पारी पट्टी पखेरोमा छ। छोरी पट्टिको एउटा नातिनी बाहेक उनको आफन्त कोही छैनन्। त्यही सानी नातिनीलाई साहारा बनाएर बसेकी छन् उनी। 

" हो हजुर दान गर्छु मेरो जग्गा भगवानलाई!" - अलग्गै अली पर बसेकी मनसरीले हात जोड्दै भनिन्।  "पाखा पखेरा तिरको जग्गाले हुने भए मै दिन्थेँ नि। मन्दिरको लागि गाउँको बिचमा जग्गा चाहिएको हो। के तेरो घर भाको जग्गा भगवानलाई दिने बिचार  कि कसो ?" फेरी गलल हासो चल्यो। 
"तेइ भन्दै छु नि हजुर मैले" - मनसरीले भनिन् "भगवानको लागि मेरो बास मात्र हैन सास पनि छोड्न तयार छु। मेरो यो झुप्रो भात्काएर भगवानको मन्दिर बनाउनुस् पारी गोठमा लिप पोत गरेर बसुँला।" मनसरीको यो कुरा सुनेर मनवीर, जोगबहादुर ठाकुरेले एक आपसमा मुखामुख गर्दै ओँठ लेप्राए।
 
अब भने गाउँमा शिव मन्दिर बन्ने नै भयो। केही दिन भित्रमा नै मन्दिर बनाउने कार्य सुरु भयो।  -जसले जे जे काम जानेको त्यसलाई त्यो कामको जिम्मा लगाइयो।
हर्क बहादुर मगर बडो सिपालु सिकर्मी हुन् उनकै अगुवाइमा मन्दिर निर्माण कार्य सुरु भयो। जङ्गे लोहार त्यो गाउँ मात्र होइन टाढा-टाढाका गाउँ सम्म नाम फैलिएको नामुद मुर्तिकार भएकोले शिवको मुर्ती बनाउने जिम्मा उसलाई दिइयो। ध्वजा पतकाको जिम्मा दले दर्जीलाई गयो। महाशिवरात्री नजिकिदै थियो। त्यस अघी नै मन्दिर निर्माणको कार्य सक्ने गरी अबिराम खटिरहेका थिए सबै गाउँलेहरु।
 
अन्तत: भनेकै समयमा निर्माण कार्य सकियो। त्यो गाउँमा मात्र होइन जिल्ला भरी मै अद्व्तिय मन्दिर बन्यो त्यो। जङ्गे लोहारले आफ्नो भए भरको शिल्प खर्चेर अहिले नै बोली हाल्ला जस्तो मुर्ती बनाएको थियो। मन्दिरको प्राङ्गणमा राखिने शिवको बाहन बसाहा त्रिशुल पनि उसैले बनाएको थियो। उता दले दर्जीले ध्वजा पतकाले मन्दिर झिलिमिली बनाएको थियो।
 
आज महाशिवरात्रीको दिन। मन्दिर निर्माणमा भोगेका दु: कष्टहरुलाई भुलेर सारा गाउँलेहरुको अनुहारमा खुशी छाएको छ। सबै भन्दा खुशी मनसरी नेपाली भएकी छन् आज मानौ उनको जीवनको सबै भन्दा ठुलो सपना पुरा भएको पन्चै बाजा बजाएर  गाउँ परिक्रमा गराएपछी शिव मुर्तीलाई मन्त्रोच्चाहरणको गुन्जयमान बातावरणमा मन्दिरमा प्रतिस्थापन् गरियो।  

अब सुरु हुँदै थियो महाशिवरात्री पूजा। गाउँले मात्र होइन टाढा टाढा बाट समेत जम्मा भएका दर्शनार्थीहरु फूल प्रशाद हात-हातमा लिएर प्राङ्गणमा बसिरहेका थिए। मानिसहरुको अर्को झुन्ड मन्दिर देखी अली पर सिस्नोघारीको डिल नेर हात-हातमा फूल प्रशाद लिएर आशे अनुहारले मन्दिर तर्फ हेरिरहेका थिए।
पूजारीहरु  प्राङ्गणमा बसेका दर्शनार्थीहरुका हातबाट फूल प्रशाद लिँदै अघी बढे तर सिस्नोघारीको डिल नेर हात- हातमा प्रशाद लिएर उभिएको आशे अनुहार तिर फर्केर समेत हेरेनन्।  मनसरीको पाँच वर्षिय नातिनी दौडेर पूजारिको हातमा फूल प्रशाद थमाउने प्रयास गरी तर पण्डित यसरी तर्सिँदै भागे मानौँ कुनै हिम्स्रक जन्तुले आक्रमण गर्न आएको होस्। उनले मनसरीलाई बेसरी झापारे - " एइ तेरो छौँडीलाई राम्रो सँग समालेर राख्न सक्दिनस्, धन्न छोएर मरिन। सानो जात भएपछी आफ्नो थात थलोमा बस्नु पर्छ नि " पण्डित कराएको सुनेर गाउँका ठुला ठालु लगाएत गाउँका अगुवा पनि त्यही आइपुगे। सिस्नोघारी नेर उभिएका त्यो झुन्डलाई यसरी हेरे कि मानौ अहिले नै ढुङ्गा मुढा बर्साउलान्। कुबेरनन्दनको कुकुर पनि उनी साथै थियो कुन बेला मालिकको अनुमती पाउँ झम्टिउँ भने झैँ गरेर उनिहरुलाई नै हेरिरहेको थियो। 

त्यो निरिह झुन्डको तर्फबाट मनसरीले बोल्ने प्रयास गरी - "बाजे हाम्रो'नि फूल प्रशाद ....... " "चुप लाग् तँ।" - मनसरी केही अनुनय गर्न खोज्दै थिइ तर गाउँका कुबेरनन्दन कड्किए - चढ्दैन तिमेर्को फूल प्रशाद भगवानलाई ! टाढैबाट दर्शन गर्ने ! टाउकोमा टेक्न नखोज आफ्नो ठाउँमा बस्ने !!"

                                                 **********************

"हजुरआमा हाम्लाई किन पूजा गर्न नदिएको ?"
आँखाको डिल भरी आँसु टिल्पिलाउँदै नातिनीले मनसरीलाई सोधी।
"हामी सानो जातको हुम् नि नानी तेसैले"
"जात भनेको केहो हजुरआमा ?"
मनसरी बोलिनन्
"हामी त्यो कुकुर भन्दा'नि सानो जात हो हजुरआमा ??"
"......................................................................?? "
"......................................................................?? " 
नातिनिको बाल सुलभ प्रश्नका जवाफमा मनसरीका आँखाबाट आँसु मात्र बगिरहे। 

उता माइकमा फलाकिँदै थियो - " यस गाउँका अगुवा समाजसेबी श्री कुबेरनन्दन ज्युको सहयोग सकृयातामा निर्माण भएको शिवमन्दिर ......................!!"






*******************************************************************************
लत्रिदै घस्रिदै सुस्ताउँदै अल्झिँदै भए पनि आज मेरो ब्लग प्रतिबिम्बले एक बर्षको यात्रा पार गर्यो 
मलाई हार्दिक बधाई :) 
यस घडीमा बिशेष गरि मेरो ब्लग यात्राका प्रेरक हस्ति दिलीप आचार्यज्युलाई बिशेष धन्यबाद दिन चाहन्छु। जोतारे धाइबाकृष्णपक्ष लगायत सम्पूर्ण सहमार्गी साथीहरु अन्य मेरा आदरणीय पाठक साथीहरुमा हार्दिक-हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। 

आगामी यात्रामा पनि यहाँहरु सबैको रचनात्मक प्रतिकृया, सुझाव सहयोगको अपेक्षा गर्दछु

                                                                    धन्यवाद

3 Comments:

Chaitanya said...

यहाँलाई धेरै धेरै बधाई ! यति राम्रो लेख्ने मानिसको लेखन यात्रा जारी रहोस ! अन्तरबार्ता बिशेष पनि प्रशस्तै छापिने प्रतिक्षामा छु |

Online Shopping said...

Ekdum ramro lagyo! Keep it up.

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!